Thursday, December 17, 2009

nepal police

काठमाडौ, २०६६ पुस २ - नेपाल प्रहरीमा काम गर्ने सबै तहका सुरक्षाकर्मीलाई पुस १ गतेदेखि ३० बर्षे सेवाअवधि लागू भएको छ । यो व्यवस्था लागूभएपछि ३० वर्ष सेवाअवधि पुगेर पनि म्यादथप गरेर हालसम्म कार्यरत ७७ प्रहरी अधिकृतले बुधबारकै मितिबाट स्वत: अवकाश पाएका छन् ।प्रहरी नियमावली २०४९ को ३० वर्ष सेवा अवधि पुगेका सुरक्षाकर्मीको दुई वर्ष म्याद थप गर्न सकिने व्यवस्थालाई संशोधन गरी झिकेपछि प्रहरीमा यो नियम लागू भएको हो । संसोधित नियमावलीमा 'यो नियमावली प्रारम्भ हुनुअघि तीस वर्ष सेवा अवधि पूरा भई सेवा अवधि थप गरिएको प्रहरी कर्मचारीको सेवा अवधि जतिसुकै बाँकी रहेको भए तापनि यो नियमावली प्रारम्भ भएपछि निजले सरकारी सेवाबाट स्वतः अवकाश पाउनेछ' भनिएको छ । नियम सशोधन भएर ३० वर्षे नियम लागू भएपछि अवकाश पाउनेहरुमा एक जना एसएसपी, चार जना एसपी, पाँच जना डिएसपी, ११ जना प्रहरी निरीक्षक, ५३ जना नायव निरीक्षक र सहायक निरीक्षक चार जना छन् । स्वतः अवकाश पाएकाहरुलाई प्रहरी प्रधान कार्यालयले बिहीवार खटिएकै स्थानमा पत्राचार गरी सरकारको निर्णय र अवकाशबारे जानकारी दिएको छ । अवकाश पाउने उच्च अधिकृतमा एसएसपीमा वीरबहादुर राना छनभने एसपीहरुमा जयबिष्णु नेपाली, मायाकुमार शाह, रामलगन यादव र मोहनबहादुर खड्का छन । त्यस्तै अवकाश पाउने डिएसपीहरुमा कृष्णबहादुर चन्द, ओमकुमार श्रेष्ठ, दयानन्द मल्लिक, रेशमबहादुर खड्का छन् ।प्रहरी निरीक्षकहरु मानबहादुर ढकाल, रामजी अधिकारी, लालबहादुर रानामगर, खिलबहादुर केसी, बुद्धबहादुर भारती, मानबहादुर दर्लामी, मानबहादुर पुन, खडगबहादुर थापा, रामसिंह बिष्ट, मदनसिंह राना र अमरबहादुर क्षेत्रीले पनि अवकास पाएका छन् । ३० वर्षे प्रावधान लागूभएपछि आगामी चैत्र १५ गते वरिष्ठ प्रहरी उपरीक्षक ढकबहादुर कार्की, श्याम नेपाल, प्रहरी उपरीक्षक रामचन्द्र भण्डारी, हरिकृष्ण खाँड, हनुमान शाह र बैशाख १२ गते डिआईजी भक्तिनाथ माझीले अवकाश पाउने छन् । गृह मातहतकै अन्य दुई सुरक्षा निकायहरु सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा यो नियम गतवर्ष पुस मसान्तदेखि लागू भएको थियो । यसअघि २०६५ साल पुस मसान्तमा गृह मातहतका बल र अनुसन्धानमा यो नियम लागू हुँदा सशस्त्र प्रहरी बलका प्रमुख वासुदेव वली र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख धनसिंह कार्कीसहित ४३ उच्च अधिकारीहरुले एक साथ अवकाश पाएका थिए । यो नियम नेपाल प्रहरी मातहतकै पहरा गणमा भने लागू नहुने भएको छ ।

No comments:

Post a Comment